शनिबार, २३ साउन २०८३
नेपाली

जागिरको प्रलोभनमा मौलाउँदै ठगी, सरकार कारबाही गर्छ न श्रमिकको पीडा देख्छ !

Main News Image

रुषा थापा________________

भक्तपुर । बाटोमा हिँडिरहँदा ’कर्मचारी आवश्यकता‘ लेखिएका पोष्टर तथा पर्चा जताततै देखिन्छन् । बत्तीको पोलदेखि घर, स्कुलका भित्तासम्ममा यस्ता पोष्टर र पर्चा टाँसिएका हुन्छन् । जसमा लेखिएको हुन्छ–कर्मचारी आवश्यक, शैक्षिक योग्यता एसईई वा प्लस टु, कार्यालय समय बिहान साढे १० बजेदेखि बेलुका ५ बजेसम्म र मासिक तलब साढे १५ हजारदेखि १८ हजार रुपैयाँसम्म । 

सम्पर्क नम्बर पनि दिइएको हुन्छ । पोष्टर त टाँसिएकै हुन्छन्, यस्ता पर्चा बाँड्नसमेत मानिसहरु खटिएको भेटिन्छन् । आकाशे पुलदेखि सार्वजनिक स्थलसम्ममा मानिसहरु यस्ता पर्चा बाँडिरहेका हुन्छन् । यता, पर्चा र पोष्टरमा विश्वास गरेर बेरोजगार मानिसहरुले सम्पर्क नम्बरमा फोन गर्छन् । उनीहरुलाई निश्चित ठाउँमा आउन भनिन्छ । 

त्यहाँ पुग्दा जागिर खोजिदिने कार्यालय हुन्छन् । विभिन्न प्रलोभनमा पारिदिन्छ । आकर्षक तलब सेवासुविधाको जागिर खोजिदिने आश्वासन देखाइन्छ । र, सम्बन्धित व्यक्ति पूर्ण रुपमा विश्वस्त भएपछि फाराम भर्न लगाइन्छ । उक्त फारामको शुल्क पाँच सयदेखि एक हजार रुपैयाँ लिइन्छ । र, एक महिनाभित्र जागिर खोजिदिने भनिन्छ । 

सो अवधिमा कतिपयले जागिर पाउँछन् त कतिपयले पाउँदैनन् । जागिर पाएपनि भनिएजस्तो तलब सेवासुविधा हुन्न । निकै गाह्रो काम हुन्छ । बिहान ७ बजेदेखि रातिसम्मै काम लगाइन्छ । अर्कोतर्फ, एकदेखि तीन महिनाको तलब जागिर लगाइदिएको कार्यालयलाई नै दिनुपर्छ । अब के हुन्छ भने तीन महिनापछि जागिर नै जान्छ । यसले एकातिर ठगिनुका साथै समय, मेहेनत र परिश्रम पनि खेर जान्छ । 

मुलुकमा बेरोजगारी बढ्दो छ । रोजगारी नहुँदा मानिसहरु भौतारिएर बसेका छन् । भोक भोकै काम खोज्न हिँड्छन् । तर, यसको लाभ सीमित व्यक्ति तथा कम्पनीहरुले उठाइरहेका छन् । बेरोजगार मानिसहरुलाई जागिरको आश्वासन देखाएर ठग्ने र श्रम शोषण गर्ने क्रम मौलाउँदो छ । सरकारले श्रमिकको न्यूनतम तलब साढे २१ ह्जार रुपैयाँ तोकेको छ । 

उक्त तलब बैंकमार्फत सम्बन्धित श्रीमकको खातामा हाल्नुपर्छ । निजी क्षेत्रमा काम गर्ने जुनसुकै श्रमिकलाई पनि मासिक यति तलब दिनुपर्छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र काम लगाउन पाइन्छ । सार्वजनिक बिदाका दिन छुट्टी दिनुपर्छ । बिरामी हुँदा उपचार खर्च, दशैंमा एक महिना तलब बराबर पेश्की, जीवन बीमा र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्छ । 

तर, यहाँ त निजी क्षेत्रमा मजदुर तथा श्रमिकहरुलाई बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काममा लगाइन्छ । त्यो पनि मासिक सात हजारदेखि १५ हजार रुपैयाँ तलबमा । सार्वजनिक बिदाका दिन छुट्टी दिइँदैन । बिरामी हुँदा उपचार खर्च दिइन्छ न दशैंमा पेश्की र बिदा । उल्टै छुट्टी मागेमा कामबाटै निकालिन्छ । जीवन बीमा र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु त परको कुरा हो । यति थोरै तलबमा काम गर्दासमेत समयमै तलब पाइँदैन । 

मन्दीको बहाना बनाउँदै श्रमिक–मजदुरको तलब रोकिन्छ । उनीहरुले तलब नपाएको तीन महिनादेखि बर्षौ भइसक्यो । आफ्नो श्रमको तलब नपाउँदा उनीहरु निकै समस्यामा परेका छन् । कोठा भाडा तिर्न सकेका छैनन् । छोराछोरी पढाउन सकेका छैनन् भने कतिपयको घरमा त खाद्यान्न केही पनि छैन । व्यापारीले उधारो पनि दिन्न । भोकभोकै बसिरहेका छन् । तैपनि काममा जान्छन्, तलब पाउने आशामा । 

किनकि काम छोड्नेबित्तिकै तलब पनि मार्नुपर्छ । कानूनले १८ वर्षमुनि उमेर भएका र ६० वर्ष कटेकालाई काममा लगाउन नपाउने व्यवस्था गरेको छ । बैंक, वित्तिय संस्थाले १८ वर्ष नपुगी बैंक खाता खोलिदिँदैन भने ६० वर्ष कटेकालाई ऋण दिँदैन । यसरी कानूनी रुपमा बालबालिका र ज्येष्ठ नागरिकबाट श्रम गराउन मनाही भएतापनि निजी क्षेत्रमा यही उमेर समूहका श्रमिक बढी भेटिन्छन् । 

होटल, रेष्ट्ररेन्टदेखि पसल, इट्टा पसल, यातायात क्षेत्रमा सात वर्षदेखि ७०–७५ वर्षसम्मका मानिसहरुले काम गरिरहेका हुन्छन् । अर्काको घरमा काम गर्ने पनि यही उमेर समूहका बढी हुने गर्छन् । सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गरेको छ । अहिले मासिक ४० हजार रुपैयाँ तलब बुझ्ने कर्मचारीहरुले साउनबाट ७० हजार रुपैयाँ पाउनेछन् । 


मासिक पाँच हजार रुपैयाँ महँगी भत्ता पनि यथावत् राखिएको छ । कर्मचारीलाई कार्यालयमै खाजा निःशुल्क दिइन्छ । वर्षमा दुई जोर पोशाक दिइन्छ । कार्यालय आउजाउ गर्न गाडी दिइन्छ । दशैंमा पेश्की, बिरामी हुँदा उपचार खर्च पाइन्छ । परिवारकै निःशुल्क उपचार गरिन्छ । सरकारले बीमा गरिदिएको हुन्छ त सामाजिक सुरक्षा कोषमा पनि आबद्ध गराइएको हुन्छ । 


अवकाशपछि समेत पेन्सन वा उपदान पाइन्छ । तैपनि कर्मचारीहरु न घुस खान छोड्छन न भ्रष्टाचार गर्न । बिहान ९ बजे कार्यालय पुग्नुपर्नेमा बल्लतल्ल साढे १०–११ बजे पुग्छन् । हाजिर गर्छन्, खाजा खान्छन् अनि दिउँसो ३ बजे नै घरतिर दौडिन्छन् । जबकी कार्यालय समय बेलुका ५ बजेसम्म तोकिएको छ । त्यसो त कर्मचारीहरु कार्यालयमा भएपनि काम गर्दैनन् । कार्यालय समयमा फेसबुक चलाउँछन्, आफन्तसँग अफिसको फोनबाट कुरा गर्छन्, कर्मचारीहरु जम्मा भएर गफ हाक्ँछन् र कतिपयले सेयर कारोबार गर्छन् । 

सेवाग्राहीलाई भने सानो कामका निम्ति घण्टौं लाइनमा मात्र उभ्याउँदैनन्, आजभोलि आउनुस् भन्दै महिनौ कटाइदिन्छन् । फेरि त्यही काम घुस पाएमा एक मिनेटमै गरिदिन्छन् । कर्मचारीहरु हरेक कामका निम्ति घुस बुझ्छन् । त्यतिले पनि नपुगेर कार्यालयका नयाँ सामान तोडफोड गर्छन् अनि नयाँ किनेर फेरि भ्रष्टाचार गर्छन् । 


सरकारी गाडी आफन्त, साथीभाइलाई ड्राइभिङ सिकाउन प्रयोग गर्छन् । अनि गाडी केही भएमा राज्यकोषबाटै मर्मत गरिन्छ । मर्मतमा एक लाख रुपैयाँ लागेमा पाँच लाखको बिल बनाएर भ्रष्टाचार गरिन्छ । सरकारले कर्मचारीलाई बैठक बसेको र फिल्डमा गएकोसमेत भत्ता दिँदै आएको छ । जुन कामका निम्ति राखिएको हो, त्यही काम गर्न सरकार तलबबाहेक तलब पनि दिन्छ । 

तर, कर्मचारीहरु फिल्डमै नगई भत्ता बुझ्छन् त भत्ताकै लागि अनावश्यक बैठक रादिन्छ । बैठकमा दश जना सहभागी भएमा तीस पोका खाजा ल्याइन्छ, खाइन्छ अनि बढी भएको घरतिर लगिन्छ । यसरी कर्मचारीहरुले काम नगर्नुका साथै राज्यलाई लुटिरहेका छन् । विडम्बना, तीनै कर्मचारीको तलब र सेवासुविधा बढ्छ । 


बजारमा महँगी बढ्दो छ । महँगी सरकारी कर्मचारीलाई मात्र लाग्दैन, निजी क्षेत्रमा काम गर्नेलाई पनि लाग्छ । त्यसैले, अब सरकारले निजी क्षेत्रमा काम गर्ने श्रीमकको तलब पनि न्यूनतम ३० हजारदेखि ५० हजार रुपैयाँसम्म तोक्नेपर्छ । निजी क्षेत्रहरु आफू त मालामाल भएका छन् तर श्रमिकलाई उनीहरुको श्रमको मूल्य दिँदैन । निजी क्षेत्र होस् या सरकारीमा काम गर्ने दुवै नेपाली नागरिक हुन् । दुवैलाई समान व्यवहार गरिनुपर्छ । त्यसकारण, अब सरकारले निजी क्षेत्रका श्रमिकको पनि तलब बढाउनुपर्ने निर्णय गर्न ढिलो गर्नुहुन्न । 


mediabaaji add

सम्बन्धित खबर

राजनीतिक हस्तक्षेप : खेलकुद विकासको मुख्य बाधक

© मदन सिंह भाट

खेलकुद मानव जीवनको त्यो सृष्टि हो, जहाँ शरीर र आत्मा बीचको संवाद हुन्छ।
खेलकुदमा केवल पसीना बग्दैन त्यहाँ इच्छाशक्ति, अनुशासन र स्वाभिमानको रस बगिरहेको हुन्छ तर जब राजनीतिक शक्ति त्यस पवित्र प्रवाह...

सुन व्यापारीहरु बेच्ने बेला मूल्य बढ्छ भन्दै हल्ला गर्ने, किन्ने बेला पैसा छैन भन्ने !

रुषा थापा

भक्तपुर । साउन २१ गते बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार र चाँदी चार हजार पाँच सय ७० रुपैयाँ पुग्यो । नेपालमा सुनचाँदीको मूल्य सम्बन्धित महासंघले निर्धारण गर्दै आएको छ । सुनबाट गरगहना बनाउने ज्याला तोलाको ४५ हजार र...

खेलाडीले सहयोग माग्नु हुँदैन, राष्ट्रले जिम्मेवारी लिनुपर्छ

मदन सिंह भाट

युवा नेता र खेलकुद विश्लेषक 


नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा देशको गौरव, सावित्रा भण्डारी (साम्बा) अहिले जीवनकै सबैभन्दा कठिन संघर्ष सामना गरिरहेकी छिन्। मैदानमा देशका लागि निरन्तर शतप्रतिशत...

कर्मचारीलाई मोजैमोज, राज्य कंगाल, जनता धमाधम आत्महत्या गर्दै !

रुषा थापा______

भक्तपुर । सरकारी सेवाबाट अवकाश प्राप्त कर्मचारीलाई सरकारले पेन्सन उपलब्ध गराउँदै आएको छ । हरेक महिनाको १० गतेभित्र कर्मचारीको खातामा सरकारले पेन्सन रकम हाल्ने गरेको छ । अथवा महिना मर्नुअगावै पेन्सन आउँछ । एउटै कर्मचारी...

आमा ! छोरा मान्छेहरु कहिल्यै रुँदैनन् हो ?

एक्कासि बाबालाई आज सन्चो भएन । हिजो असारको १५ गते, खेतमा बेस्सरी भिजेर आउनु भएकोले आज बाबालाई ज्वरो आएको छ अनि खोकी पनि लागीरहेको छ । म घरको जेठो छोरा, सबै जिम्मेवारी मेरै काँधमा छ । बुबापछिको शेष मनै हुँ । ठुली दिदी ब...

जित्ने कला “पागलपन” जबसम्म तपाईंले हार मान्नु हुन्न -डिआर दाहाल

 जीवनको यात्रा कहिलेकाहीं अनिश्चित, चुनौतीपूर्ण र कठिनाइले भरिएको हुन्छ। हामी सबैले कहिल्यै नसकिए जस्तो लाग्ने समस्याहरू र धेरै असफलताहरूको सामना गर्नुपरेको हुन्छ। तर, जीवनका यस्ता क्षणहरूमा नै तपाईंको दृढता, साहस, र आत्मबलको वास्तविक परीक्षा...