शनिबार, ०३ असोज २०८३
नेपाली

जनता डुबाउन आफैं कस्सिए अर्थमन्त्री, सेयरमा लगानी गर्नुपूर्व सोचविचार गरौं !

Main News Image

रुषा थापा_____

भक्तपुर । कानूनअनुसार कुनै पनि वस्तु तथा सेवामा उत्पादन लागतको २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन । अर्थात् एक सय रुपैयाँमा उत्पादन भएको वस्तु बढीमा एक सय २० रुपैयाँमा बेच्न पाइन्छ । त्योभन्दा बढी नाफा लिएमा जरिवाना र कैद दुवै सजाय हुने कानूनी व्यवस्था छ । बैंक, वित्तिय संस्था, जलविद्युत, इन्स्योरेन्सलगायत कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा सेयर निष्काशन गर्दै आएका छन् । 

तर, अहिले बजारमा सेयर प्रतिकित्ता २६ सय बढीमा किनबेच भइरहेको छ । केही वर्षअघि त कित्ताकै ३२ सयदेखि पाँच हजारसम्ममा किनबेच भयो । अब प्रश्न चाँहि के उठ्छ भने एक सय रुपयाँ कित्तामा निष्काशन गरिएको सेयर २६ सयमा किनबेच गर्नु कालोबजारी हो कि होइन ? यदि हो भने कारबाही हुने कि नहुने ? अर्कोकुरा, २६ सयमा सेयर किनबेच हुँदा नाफाको मात्र राजस्व राज्यले पाउँछ । 

अर्थात् कुनै व्यक्तिले आज २६ सय कित्तामा सेयर किन्यो । त्यसको तीन दिनपछि मात्र त्यो सेयर बेच्न पाइन्छ । अनि २६ सयमा किनेको सेयर २६ सय १० रुपैयाँमा बेचेमा मात्र राज्यले नाफाको १० प्रतिशतको जम्मा एक प्रतिशत कर पाउँछ । अथवा १० रुपैयाँको पनि एक रुपैयाँको मात्र राजस्व राज्यको खातामा जान्छ । यदि त्यो सेयर २५ सय ९० मा बेचमा सुको कर राज्यले पाउँदैन । 

गत साउनदेखि सरकारी कर्मचारीको तलब बढेको छ । सरकारले चालु आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गरेको हो । कर्मचारीको तलबसँगै पेन्सन र जनप्रतिनिधिको तलब पनि बढेको छ । यता, महँगी भत्ता पाँच हजार रुपैयाँ यथावत राखिएको छ । मुलुक सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टमा छ । ०८१ पmागुन ९ गते परेकोमा हालसम्म निकाल्न सकिएको छैन । 

आउँदो माघभित्र यो सूचीबाट निकाल्न नसके नेपाल सम्पत्ति शुद्धिकरणको ब्ल्याकलिष्टमा पर्नेछ । यसो भएमा नेपालले वैदेशिक ऋण पाउँछ न अनुदान । नेपालीहरु विदेश जान पाउँदैनन्, विदेशमा रहेका नेपालीलाई उल्टै स्वदेश फर्काइन्छ । मुलुक ऋणको दलदलमा फसेको छ । पुरानै सरकारले ३२ खर्ब ऋण लिएका थिए । बालेन्द्र साह (बालेन)ं नेतृत्व सरकार बनेयता त्यसमा चार खर्ब थपिएको छ । 

जताजतै सरकारी बक्यौता छ । निर्माण व्यवसायीको ५६ अर्ब, स्वास्थ्य बीमाको ४३ अर्ब, कोरोना बीमाको २४ अर्ब र दुध तथा उखु किसानको सात अर्ब भुक्तानी दिन बाँकी छ । एकातिर जताततै बक्यौता र ऋण हुँदा, अर्कोतिर वर्षेनी मुलुकले खर्बौको क्षति व्यहोरिरहेको अवस्था छ । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । हजारौंको ज्यान लिएको बाढीले खर्बौको भौतिक क्षति पुगेको छ । बाढी पीडितको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनः निर्माणका लागि आठ खर्ब बढी चाहिने सरकारी पूर्वानुमान छ । 

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा पनि उत्तिकै जनधनको क्षति भएको थियो । ७७ जनाले ज्यान गुमाएको सो आन्दोलनमा सरकारी संरचनातर्फ ८४ अर्ब ७७ करोड ४५ लाख र निजी संरचनातर्फ २७ खर्बको क्षति पुग्यो । आन्दोलनको एक वर्ष बितिसक्दा समेत क्षतिग्रस्त सरकारी संरचना पुनःनिर्माण कार्य अझै शुरु भएको छैन । 

जलेको सिंहदरबारसहित सरकारी भवनहरु छोपेर राखिएको अवसथा छ । किनकि पुनःनिर्माणका लागि राज्यसँग पैसा नै छ । यता, गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा २० अर्ब खर्च भयो । सरकारी खर्ब बढेको बढ्यै छ तर आम्दानी केही पनि छैन । आम्दानीका स्रोतहरु कतै बाढीले बगाएको छ त कतै आन्दोलनमा जलाइयो । कतिपय क्षेत्रमा चाँहि व्यापक मन्दी छाएको छ । 

यसले राज्य दबाबमा परेको छ । राजस्व नउठ्दा अर्थतन्त्र संकटमा छ । अहिलेसम्म त वैदेशिक ऋण, अनुदान र रेमिट्यान्सले मुलुक धानिरहेको छ । तर, मुलुक सम्पत्ति शुद्धिकरणको ब्ल्याकलिष्टमा परेमा त्यो बाटो पनि बन्द हुनेछ । तब सरकारले के गर्छ ? जथाभावी लगानी गर्दा सर्वसाधारणदेखि बैंक, वित्तिय संस्थासम्म डुबेका छन् । छिट्टै धनी हुने दलालीको लहैलहैमा लागेर मानिसहरुले आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । 

बैंक, वित्तिय संस्थाहरुले पनि त्यस्ता वस्तुमा खर्बौ कर्जा प्रवाह गरे । उनीहरुले बुझेनन् कि घरजग्गा, गाडी र सेयर अनुत्पादक वस्तु हुन्, यसको मूल्य कृत्रिम रुपमा बढाइएको हो । दलालीहरुको उक्साहटमा लागेर अध्यक्ष, सञ्चालक र कर्मचारीहरुले घुस खाई यस्ता क्षेत्रमा लगानी गर्दा सहकारी त भाग्नुपर्यो, बैंकमा पनि समस्या देखिरहेको छ । सहकारी डुब्दा करोडौं बचतकर्ताको बिचल्ली भएको छ अब बैंक डुबेमा कतिको होला ? 

अर्कोतर्फ, बैंक, वित्तिय संस्था डुबेमा सेयरधनी पनि डुबेछन् । कानूनअनुसार सम्बन्धित कम्पनी नाफामा रहेमा सेयरधनीहरुले बोनस पाउँछन् । तर, संस्था डुबेमा सेयरधनी पनि डुब्नेछन् । त्यसको क्षति सेयरधनीहरुले पनि व्यहोर्नुपर्छ । सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशनमा हालै पुँजी बजार सुधार कार्ययोजना ल्याइएको छ । कार्ययोजनामार्फत सेयरबाट संकलन गरिने राजस्व शून्यसरह बनाइएको छ । कार्ययोजना ल्याइएपछि सेयरको मूल्य र कारोबार ह्वात्तै बढेको छ । तर, यो बेलालाई अधिकांश लगानीकर्ताले सेयर बेचेर उम्किने अवसरका रुपमा लिएका छन् । 

बजारमा लगानीकर्ताहरु भन्छन्–यही बेला सेयर बेचेर उम्बिनुपर्छ । यही हो मौका । यसरी पुराना लगानीकर्ता त सेयर बेचेर उम्किन्छन्, अनि नाफा हुन्छ भने लगानी गर्ने नयाँ मानिसहरु भने नराम्ररी फस्नेछ । पूर्वअर्थमन्त्री युवराज खतिवडा र बाबुराम भट्टराईले सेयर जुवा हो भनेका थिए । अहिले सावित नै भएको छ । 

विडम्बनापूर्ण कुरा चाँहि के छ भने राज्य आफैं जनतालाई जुवा खेलाइरहेको छ । राजस्वको लोभमा जनतालाई डुबाउने काम गरिरहेको छ । सेयरमा ८३ लाख ६७ हजार सर्वसाधारणले लगानी गरेका छन् । सेयर धितो राखेर बैंकले एक खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेको छ । एक सय कित्ताको सेयर धितो राखेर २८ सयसम्म ऋण दिएको पाइन्छ । 

यस्तै, सेयरसहित घरजग्गा र गाडी धितो राखेर सहकारीबाट ६३ लाख, लघुवित्तबाट २७ लाख, बैंकबाट २२ लाखले कर्जा लिएका छन् । मीटरब्याजमा कर्जा लिने पनि लाखौं छन् । ऋण तिर्न नसकेर पाँच लाख बढी सर्वसाधारण कालोसूचीमा परिसकेका छन् । बजारमा घरजग्गा, गाडी, सेयर बेच्न चाहने जताजतै भेटिन्छन् तर किन्ने कोही छैनन् । किनकि जनताले बुझिसके–यी वस्तुको मूल्य कृत्रिम रुपमा बढाइएको हो । 

तर, अर्थमन्त्री वाग्ले भने जनता डुबाउन लागिपरेका छन् । सेयरको मूल्य बढाएर जनतालाई फसाउन खोजिरहेका छन् । हुन त अर्थमन्त्रीसहित वर्तमान क्याबिनेटका अधिकांश मन्त्रीको सेयरमा लगानी छ । त्यसैले, उनीहरु पनि यही मौकामा सेयर बेचेर उम्किन खोजेको देखिन्छ । नभए सेयरको मूल्य बढेपनि, घटेपनि उनीहरुलाई के को मतलब ? 

बरु उल्टै जनता डुबाउने सेयर दलालहरुलाई कारबाही गर्नुपर्ने होइन र ? त्यसैले, अब जनता आफैं सचेत हौं । मूल्य बढ्यो भनेर लगानी गरिनहालौं, लगानी गर्नुपूर्व सोचौं । नत्र पछुताउनु र डुब्नुबाहेक केही विकल्प रहँदैन । सञ्चारमाध्यमहरुले पनि जनतालाई सचेत गराउनुपर्छ । 

mediabaaji add

सम्बन्धित खबर

सर्वसाधारण र व्यापारीमा छैन नयाँ वर्षको उत्साह, महँगी र मन्दीको चिन्ता !

रुषा थापा_________

भक्तपुर । नयाँ वर्ष शुरु भइसकेको छ । तर, आम नागरिकमा नयाँ सालको उत्साहभन्दा पनि चिन्ता देखिन्छ । २०८३ सालमा झन् महँगी बढ्ने बजारमा व्यापक चर्चा छ । आम सर्वसाधारण भन्छन्–पछिल्लो एक महिनामै सयौं गुणा महँगी बढिसक्यो ।...

भोगीको दार्शनिक पथ ! भोग दर्शन !

© निर्मल पुरी 'भोगी' 

मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १३। सामान्य अर्थमा भोग दर्शन ,भोगविलास , आनन्द वा रुचिहरूको लागि बहस गर्ने दर्शन हो । यसलाई मिश्रित दार्श...

आमा ! छोरा मान्छेहरु कहिल्यै रुँदैनन् हो ?

एक्कासि बाबालाई आज सन्चो भएन । हिजो असारको १५ गते, खेतमा बेस्सरी भिजेर आउनु भएकोले आज बाबालाई ज्वरो आएको छ अनि खोकी पनि लागीरहेको छ । म घरको जेठो छोरा, सबै जिम्मेवारी मेरै काँधमा छ । बुबापछिको शेष मनै हुँ । ठुली दिदी ब...

खेलाडीले सहयोग माग्नु हुँदैन, राष्ट्रले जिम्मेवारी लिनुपर्छ

मदन सिंह भाट

युवा नेता र खेलकुद विश्लेषक 


नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा देशको गौरव, सावित्रा भण्डारी (साम्बा) अहिले जीवनकै सबैभन्दा कठिन संघर्ष सामना गरिरहेकी छिन्। मैदानमा देशका लागि निरन्तर शतप्रतिशत...

वित्तिय पीडितहरु महिनौंदेखि सडकमा, सरकार भने दुर्गा प्रसाईंतिर व्यस्त !

रुषा थापा_____

भक्तपुर । लघुवित्त पीडितहरुको आन्दोलन जारी छ । महिनौंदेखि उनीहरु राष्ट्रिय मानव अधिकार आयोगलगायत निकायमा धर्ना दिइरहेका छन् । उनीहरुको पीडा सहिनसक्नु छ । जायजेथा सबै गुमाएपछि उनीहरु सडकमा उत्रिएका हुन् । विडम्बना, सरकार...

होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल

काठमाडौँ फागुन १८। रङहरूको पर्व फागु पूर्णिमा (होली पर्व) को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका छन् ।

होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...