सरुभक्त ‘कविता एन्ड द कप’मा गुन्जिए, सरल र जनमुखी कविताको पक्षमा जोड
काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा बहुआयामिक सर्जक सरुभक्तको प्रमुख आतिथ्यमा ‘कविता एन्ड द कप’ कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित सिलौटो कटेजमा आयोजित कार्यक्रममा कविता वाचन, साहित्यिक अन्तरक्रिया तथा समकालीन नेपाली कवितामाथि गहन विमर्श गरिएको थियो ।
कविता, उपन्यास, कथा, नाटक, संस्मरण र मुक्तक लगायत साहित्यका विविधविधामा विशिष्ट योगदान पुर्याउँदै आएका सरुभक्तले कार्यक्रममा आफ्नो सिर्जना यात्राका अनुभवहरू साझा गर्नुभएको थियो। उहाँले कविता कुनै निश्चित स्थान वा परिवेशमा सीमित नहुने बताउँदै आफू जहाँ पुग्यो, त्यहीँ कविता भेटिने अनुभूति हुने गरेको धारणा राख्नुभयो ।
सो अवसरमा सरुभक्तले २०५५ सालमा सञ्चालन गरेको ‘संरक्षण कविता अभियान’को स्मरण गर्दै मुक्तिनाथको रानीपौवा गाउँमा पुगेर स्थानीय मुखिया तथा गाउँलेहरूलाई भेला पारी स्थलगत रूपमा कविता लेख्दा प्राप्त अनुभवहरू सुनाउनुभयो । उहाँले साहित्यलाई समाजसँग जोडेर लैजानुपर्ने आवश्यकता औंल्याउँदै कविता जनजीवनसँग नजिक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँका अनुसार अत्यधिक प्रयोगवादी र बौद्धिक कविताभन्दा गाउँघरका सामान्य पाठकले समेत सहज रूपमा बुझ्न सक्ने कविता लेख्नु आजको आवश्यकता हो । कविले चाहेमा बौद्धिक तथा प्रयोगशील कविता लेख्न सक्ने भए पनि सरल र सहज धाराका सिर्जनासमेत दिन सक्ने उल्लेख गर्दै उहाँले आफू विभिन्न शैलीका कविताबाट प्रभावित भएको बताउनुभयो ।
यस क्रममा उहाँले कवि मोहन कोइराला का प्रयोगवादी कविताले आफूलाई प्रभावित पारेको चर्चा गर्नुभयो। साथै वैरागी काइँला र इन्द्रबहादुर राई द्वारा प्रवर्द्धित आयामेली कविताको जटिलता र त्यसले नेपाली साहित्यमा पारेको प्रभावबारे पनि आफ्नो धारणा राख्नुभयो । आफ्ना कतिपय कवितालाई समीक्षक तथा समालोचकहरूले जटिल भन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै सरुभक्तले त्यो एक प्रकारको भाष्य मात्र भएको बताउनुभयो। आफूले सरल, सहज र पाठकमैत्री कविता पनि उत्तिकै लेखेको जिकिर गर्दै उहाँले समालोचकहरूले राम्रो कवि भनेर प्रशंसा गर्ने तर सँगै ‘जटिल कवि’ को परिचय दिने गरेको विषयमा व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो।
समकालीन कविताप्रति टिप्पणी गर्दै उहाँले अहिले लेखिने कतिपय कविता कथाजस्ता हुन थालेको र कविताको पृथक पहिचान कमजोर बन्दै गएको धारणा राख्नुभयो। कविताका नाममा राजनीति गर्ने तथा केवल कुण्ठा र निराशालाई चित्रित गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उहाँले आफ्ना सिर्जनाहरू पाठकले बुझ्न र आत्मसात् गर्न सक्ने प्रकारका रहेको बताउनुभयो।
कार्यक्रममा सरुभक्तले आफ्नो चर्चित रचना ‘असलम मियाँको सपना’ सहित केही मुक्तक वाचन गर्नुभएको थियो। उहाँको प्रस्तुति सुनेपछि उपस्थित कवि, साहित्यकार तथा साहित्यप्रेमीहरू मन्त्रमुग्ध बनेका थिए।
‘कविता एन्ड द कप’का सूत्राधार कवि केशव सिलवाल र उद्घोषक मोक्तान थेबा को संयोजनमा सम्पन्न कार्यक्रममा सरुभक्तका विभिन्न कृतिमा समावेश प्रतिनिधिमूलक कविताहरूको समेत वाचन गरिएको थियो। ‘चट्टान’, ‘पीडादेश’, ‘एक किलो अक्षर’, ‘इतर समय’, ‘प्रयोगशालाभित्र’, ‘कवि/प्रेमी र पागल’, ‘क्यानभास’ तथा ‘शब्दबिम्ब’ जस्ता कवितासङ्ग्रहमा सङ्गृहीत रचनाहरू समेटिएको ‘सरुभक्तका कविता’ कृतिबाट चयन गरिएका कविताहरू प्रस्तुत गरिएका थिए।
कविता वाचन गर्नेहरूमा मातृका पोखरेल, रामगोपाल आशुतोष, मिथोच, उमेश अकिञ्चन, रमेश पौडेल, अनुभव, गीता त्रिपाठी, शकुन्तला जोशी तथा सीता तुम्खेवा रहनुभएको थियो। त्यस्तै कवि राजु उबरकोट र सजना गोलेले पनि आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो।
वाचन गरिएका सरुभक्तका कवितामाथि साहित्यकार कुमारी लामा, गोविन्द गिरी प्रेरणा तथा नवीन सिंह ठकुरी ले लघुधारणा प्रस्तुत गर्दै सरुभक्तको काव्ययात्रा, शैली र योगदानबारे चर्चा गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन कवि मोक्तान थेबाले गर्नुभएको थियो। साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमले समकालीन नेपाली कविताको अवस्था, प्रवृत्ति र भविष्यबारे सार्थक बहस सिर्जना गरेको सहभागीहरूले बताएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ लोकार्पण
काठमाडौँ । उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ उपन्यास लोकार्पण भएको छ । शिखा बुक्स बाघबजार काठमाडौंको आयोजना तथा श्यामलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि श्यामल, समालोचक राजकुमार बानियाँ, सुमन वर्षा, शिखा बुक्सका पुष...
'मेरी छोरी मान्या'बालकथा सङ्ग्रहको विमोचन
- दुर्बिन शर्मा 'विवेक'
वरिष्ठ आख्यानकार ,कवि ,साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ 'सरित्'द्वारा रचित बालकथासङ्ग्रह 'मेरी छोरी मान्या´को विमोचन तथा समीक्षा कार्यक्रम राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारले आयोज...
बागमती साहित्य महोत्सव संस्करण दुइ चितवनमा हुने
मिडियाबाजी डटकम,काठमाडौँ । साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा बागमती सभ्यताको संरक्षण गर्ने उद्देश्यका साथ “बागमती साहित्य महोत्सव २०८३” चितवनमा आयोजना हुने भएको छ । महोत्सव आगामी जेठ १६ र १७ गते नारायणगढ उद्योग वाणिज्य संघको हलमा सञ्चालन हु...
फिदिम माविमा ‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न
पाँचथर ,फिदिम। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा बिहीबार अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न भएको छ।
‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत आयोजित उक्त...
राहुलको नयाँ अध्याय लोकार्पण
©निशेष आङ्देम्बे
गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति ...
कुलपति भूपाल राईद्वारा धरान स्रष्टा पार्कको समूद्घाटन र १३ जना सष्टाको प्रतिमा अनावरण
प्राज्ञ चेतनाथ धमला
धरान,चैत्र १३ गते, शुक्रबार। सुनसरीस्थित
धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्घाटन तथा प्रतिमा अनाव...



