सोमबार, १६ कात्तिक २०८३
नेपाली

खोलामाथि घर, पानी पर्नेबित्तिकै त्रसित हुन्छन् स्थानीय !

Main News Image

रुषा थापा

भक्तपुर । जमिनमुनिबाट मूल फुटेर वा आकाशबाट पर्ने पानी बग्ने वा जम्मा हुने खोला, टुकुचा, राजकुलो, कुँवा, कुलो, ढुंगेधारा, पानीघट्ट, पोखरी, ताललगायत मासेर घरलगायत संरचना बनाइयो । भूमाफिया र जग्गा दलालीसहित सरकारी कर्मचारी र जनप्रतिनिधिकै मिलीभगतमा देशभरिका यस्ता सम्पदा मासेर संरचना ठड्याएको पाइन्छ । यसका निम्ति केही उदाहरण नै काफी छन् । 

काठमाडौंको बुढानीलकण्ड नाराणथान हुँदै बग्ने खोलालाई कुलो बनाइएको छ । त्यो कुलो पनि चक्रपथ, चुनदेवी, बालुवाटार, गैरीधारासम्म देखिन्छ । लाम्पिपाटको उत्तर ढोका आइपुगेपछि गायब हुन्छ । किनकि खोलामाथि नै घर बनाइएको छ । खोलामाथि नै जय नेपाल हल, कमलादी, बागबजार एरियामा घर बनेका छन् । र, लाम्पिपाटको उत्तर ढोकाबाट गायब हुने सो खोला राससको कार्यालय आइपुगेपछि भने देखिन्छ । 

त्यहाँबाट सो खोला थापाथलीमा मिसिन्छ । अर्को उदाहरण हो, धोवीखोला । यो खोला वि.सं. २०२९ सालसम्म बगेर घट्टेकुलो चोक वा हाल सिंहदरबारको कम्पाण्ड लगाइएको ठाउँसम्म पुग्ने स्थानीय बुढापाका बताउँछन् । घट्टेकुलोमा त पानीघट्ट नै रहेकोले सो ठाउँको नाम घट्टेकुलो राखिएको बताइन्छ । अहिले धोवीखोला पनि कुलो बनिसकेको छ भने पानीघट्ट त गायब भइसक्यो । 

भूमाफिया, कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा ठूलो खोलालाई समेत कुलो बनाइएको तेस्रो उदाहरण हो, भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला । यो खोला केही दशकअघिसम्म बगेर कमेरोटार, सल्लाघारी तीनकुने, खरिपाटी, निकोसेरा, चंगा गणेशथान, दुवाकोटसम्म पुग्ने स्थानीय बुढापाका बताउँछन् । उनीहरुका अनुसार यी ठाउँ खोलाकै जग्गा हो । तर, भूमाफिया र जनप्रतिनिधिहरु मिलेर खोलालाई गहिरो बनाई खोलाका जग्गा हड्पिएको उनीहरुको आरोप छ । 

२०६५ मंसिर १ गतेको मन्त्रिपरिषद् बैठकले खोला नदी आसपास घरलगायत संरचना बनाउँदा अनिवार्य २० मिटर छोड्नुपर्ने निर्णय गरेको थियो । ०८० पुस ३ गते बागमती, विष्णुमती र मनोहरा खोला आसपास संरचना बनाउँदा ४० मिटर छोड्नुपर्ने फैसला गर्यो । त्यसविरुद्ध तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार महान्यायाधिवक्ताको कार्यालयमार्फत पुनरावलोकनमा गएकोमा ०८२ माघ ४ गते सर्वोच्चले आफ्नै फैसला उल्टाउँदै २० मिटरमात्र कायम गरिदियो । 

कात्तिक १३ र १४ गते परेको वर्षाका कारण काठमाडौं उपत्यकाका खोलाहरुमा बहाव बढेको थियो । जसका कारण आसपासका स्थानीय त्रसित भएका छन् । उर्लिएको खोलाले बगाउने डर अधिकांशमा देखिन्थ्यो । कतिपय त स्थानान्तरण हुनतर्फ समेत जुटिसकेका थिए । अर्कोतर्फ, खोला घरभित्र नपसेपनि घरको शौचालय भने भरिएको गुनासो धेरैको थियो । त्यसको कारण हो घरको ढल खोलामा मिसाउनु । 

यसअघि गत असोज ८ गतेदेखि ११ गतेसम्म परेको वर्षामा कारण पनि उपत्यकासहित देशभरका खोला उर्लिएका थिए भने ०८२ असोज १७ गतेदेखि १९ र ०८१ असोज १० गतेदेखि १२ गतेसम्म भएको वर्षाले त वितण्डा नै मच्चाएको थियो । ०५१–०५२ सालमा पनि ठूलो वर्षा भएको थियो । त्यो वर्षाले भक्तपुरको नयाँ थिमी, राधेराधे, सिर्जनानगर, सल्लाघारी, चुनदेवीसम्म पूरै डुबेको स्थानीय बताउँछन् । 

त्यसको केही वर्षमै अर्थात् ०५५ सालमा भएको वर्षाले पनि यी एरिया डुबानमा परेका थिए । त्यसो त ०४८ सालसम्म यी एरियामा रोपनीको ३० हजारमा समेत नबिक्ने स्थानीय बताउँछन् । किनकि यी एरियामा बाह्रै महिना हिलो र डुबान हुन्थ्यो । अर्कोतर्फ, यहाँका अधिकांश जग्गालाई सरकारी, गुठी, ऐलानीमा राखिएको थियो । राधेराधेलाई त सिमसार क्षेत्रमै राखिएको दाबी गरिन्छ । 

०६६ सालमा राधेराधेमा १५ तले भवन बन्यो । यद्यपि, हालसम्म उक्त भवन निर्माणाधीन छ । भवन बनेको जग्गासमेत सरकारी भएको स्थानीय दाबी गर्छन् । सो भवन सञ्चालनमा नआउँदै ०७४ सालमा त्यसकै अगाडि भाटभटेनी बन्यो । त्यसपछि यहाँ जग्गाको मूल्य ह्वात्तै बढ्यो । भाटभटेनी बनेपछि राधेराधेमा जग्गाको मूल्य आनाकै ७५ लाखदेखि करोड पुग्यो । रोचक कुरा चाँहि भाटभटेनी आफैं सरकारी जग्गामा बनेको स्थानीयको आरोप छ अनि त्यही भाटभटेनीका कारण जग्गाको मूल्य ह्वात्तै बढ्यो । 


भूमाफियाहरुले आफ्नो स्वार्थका निम्ति राज्यका सम्पत्ति दोहन गरे । पानीका स्रोत त मासे नै सँगै देशभरका सरकारी तथा सार्वजनिक जग्गा, गुठी, ऐलानी, मठमन्दिर, वनजंगल, हदबन्दी बढी, खोला नदी, राजपरिवारलगायतका जग्गासमेत हड्पे । सरकारी जग्गा देख्नै नहुने । मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको जग्गासमेत कब्जा भएको अवस्था छ । विडम्बना, यसतर्फ सरकारको आँखा कहिले जाने ? 

यसरी भूमाफियाहरुसँग मिलेर सरकारी सम्पदा मास्ने र जग्गा हड्पनेमा राजनीतिक दलका ठूल्ठूला नेता, कार्यकर्तादेखि व्यापारी व्यवसायीसम्म छ । उद्योगी शेखर गोल्छा, चन्दप्रसाद ढकाल, भाटभटेनी साहु मीनबहादुर गुरुङलगायतमाथि सरकारी जग्गा हड्पेको आरोप छ । राजनीतिक दलका नेताहरुमाथि पनि सरकारी सम्पत्तिको दुरुपयोग वा सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप छ । वर्तमान बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले देशभर अतिक्रमित सार्वजनिक जग्गा खोजतलास गरी फिर्ता ल्याई त्यस्ता जग्गा व्यक्तिका नाममा लैजानेलाई कडा कारबाही गर्ने आशा गरिएको थियो । 

किनकि प्रधानमन्त्री बालेनले सार्वजनिक सम्पदा र जग्गाको संरक्षण गरेरै जनताको मन जितेका थिए । काठमाडौं महानगरपालिकाको मेयर रहँदा सरकारी जग्गा र सम्पदा संरक्षण र अतिक्रमणमुक्त गराउन उनले चालेका कामबाट प्रभावित भएरै जनताले प्रधानमन्त्रीको कुर्सीमा पुर्याएका छन् । तर, प्रधानमन्त्री बनेपछि भने बालेन सरकार उल्टो बाटोमा हिँडेको देखिन्छ । पहिले सार्वजनिक जग्गाको संरक्षण गर्ने बालेन अहिले भोटका निम्ति सरकारी जग्गा सुकुम्बासीको नाममा पास गराउँदैछन् । 

०४६ सालपछिका सरकारले पनि भोटका निम्ति सुकुम्बासीहरुलाई धेरै सरकारी जग्गा बाँड्यो । जग्गा पाएपछि उनीहरुले बेचे, बैंकमा धितो राखेर पैसा निकाले । अनि कर्जा नतिरेर बैंकले जग्गा लिलाम गरेपछि फेरि सुकुम्बासी भन्दै सडकमा उत्रिए । यसरी सरकारले सुकुम्बासीलाई जग्गा बाँड्ने, उनीहरु भने बेच्दै फेरि सुकुम्बासी बन्ने क्रम चलिआएको छ । यसतर्फ, बालेन सरकारको ध्यान गएन । 

अतिक्रमित सरकारी जग्गा खोज्नतर्फ त प्रधानमन्त्री बालेनले ध्यानै दिएनन्, बरु केही बचेका सरकारी जग्गासमेत सुकुम्बासीका नाममा बाँड्दैछन् । यसले भूमाफियाहरुको मनोबल झनै बढेको छ । देशकै भूभागमाथि छिमेकीले अतिक्रमण गर्दासमेत बालेन सरकार मौन छ । कालापानी, लिम्पियाधुरा, लिपुलेकमा भारतीय हस्तक्षेप बढ्दो छ । भारतले विगतमा दार्जिलिङ, सिक्किम, टकनपुर, कागडा टिष्टा, गोरखपुर, हाजीपुर, बाघघाम, गंगा नदीसम्मको नेपाली भूभाग लगिसकेको छ । 

बालेन सरकारले छिमेकीले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सर्वसाधारणको विश्वास थियो । तर, प्रधानमन्त्री बालेनले गत जेठमा सदनमै नेपालले समेत भारतको थुप्रै भूमि मिचेको हचुवा दाबी गरे । जसका कारण अब नेपालले मिच्दै नमिचेको भूमिसमेत भारतलाई दिनुपर्ने अवस्था सिर्जना भएको छ । जनप्रतिनिधिहरु जिम्मेवार नहुँदा र कर्मचारीहरु लोभलालचमा फस्दा देश र जनताले कति ठूलो नोक्सानी व्यहोनुपर्छ, यो उदाहरण हो ।  



mediabaaji add

सम्बन्धित खबर

भूमिमन्त्रीलाई प्रश्नः कौडीको भाउमा लिजमा दिइएका सम्झौता खारेजी र अतिक्रमित सरकारी जग्गा कहिले फिर्ता ल्याउने ?

रुषा थापा___________

भक्तपुर । विगतका सरकारको पालामा थुप्रै सरकारी जग्गा व्यक्तिका नाममा गएको वा कब्जा भएको पाइन्छ । राजनीतिक पहुँचमा सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, उद्योग, कारखाना, राजपरिवारलगायतका जग्गा कब्जा गरिनुका साथै...

हात्ती आयो हात्ती आयो फुस्सा भयो सङ्घीयता

© हरि खतिवडा

काठमाडौँ । नेपालीमा एउटा उखान छ नि “भूँइको टिप्न खोज्दा पोल्टाको खस्यो “हो त्यस्तै बाटोमा लम्किरहेका छौँ हामी ।अरु देशले आफ्नो सँस्कृतिलाई मोडिफाई गर्दै विश्वलाइ आफ्नोपन चखाउँछन् ,हाम...

अबको शिक्षा प्रणाली कस्तो हुनुपर्छ? रटानबाट सीप, प्रमाणपत्रबाट क्षमता र कक्षाकोठाबाट वास्तविक जीवनतर्फ

हामीले आजका बालबालिकालाई हिजोको संसारका लागि होइन, भोलिको संसारका लागि तयार गर्दैछौँ। तर प्रश्न छ—भोलिको संसार कस्तो हुन्छ? कृत्रिम बुद्धिमत्ता (AI), स्वचालन,...

राष्ट्रसेवक नै राष्ट्रलाई हानि पुर्याउँदै, सरकार रमिते !

रुषा थापा_____

भक्तपुर । दुई दशकअघि भक्तपुरको सल्लाघारी तीनकुने चौरअगाडि यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भयो । बागमती प्रदेशको यातायात मन्त्रालयअन्तर्गत सञ्चालित उक्त कार्यालय घर भाडामा लिएर खुलेको थियो । कार्यालयले मासिक डेढ...

लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा

मिडियाबाजी डटकम काठमाडौँ आश्विन ३० ,काठमाडौँ ।लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्...

राजनीतिक हस्तक्षेप : खेलकुद विकासको मुख्य बाधक

© मदन सिंह भाट

खेलकुद मानव जीवनको त्यो सृष्टि हो, जहाँ शरीर र आत्मा बीचको संवाद हुन्छ।
खेलकुदमा केवल पसीना बग्दैन त्यहाँ इच्छाशक्ति, अनुशासन र स्वाभिमानको रस बगिरहेको हुन्छ तर जब राजनीतिक शक्ति त्यस पवित्र प्रवाह...